राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६–२८ मा काठमाडौंमा हुने
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।
असार ५ र ६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति र तयारीसम्बन्धी निर्णय सार्वजनिक गरेको हो। महाधिवेशन सफल बनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ।
समितिमा केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार समिति, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, सांसद तथा भातृ संगठनका प्रतिनिधिहरूलाई समेटिएको छ। पार्टीले आवश्यकताअनुसार थप उपसमितिहरू गठन गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिएको जनाएको छ।
पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली तथा निर्वाचन निर्देशिका परिमार्जनसहित पारित गरेको छ।
नयाँ कार्यतालिकाअनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ। तोकिएको समयभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने जिल्लाहरू मात्र केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुने व्यवस्था गरिएको छ।
त्यस्तै असोज १५ देखि २४ गतेसम्म सातै प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरिनेछ। सक्रिय सदस्यता वितरण अभियान भदौ मसान्तसम्म सञ्चालन गरिने र सो अवधिभित्र सक्रिय सदस्यता लिएका व्यक्तिहरूलाई मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ।
कात्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिमार्फत केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ। छनोट गरिएका प्रतिनिधिको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी सचिवालयमा बुझाइ सक्नुपर्नेछ।
राप्रपाले प्रतिनिधि छनोटमा युवाको सहभागिता अनिवार्य रूपमा सुनिश्चित गरिने नीति पनि अघि सारेको छ। साथै पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा आफ्ना नीति, विचार र सिद्धान्तको आवश्यकता अझ बढेको निष्कर्ष निकाल्दै स्वदेश तथा विदेशमा रहेका कार्यकर्तालाई उच्च मनोबलका साथ सक्रिय रहन आग्रह गरेको छ।







