रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि, नयाँ नेतृत्व र विधान संशोधनमा केन्द्रित
Prime TV News एक महिना अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ।
भरतपुरको गेष्टहाउस चौरमा आयोजना हुने तीनदिने महाधिवेशनलाई पार्टीका सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
महाधिवेशनको उद्घाटन सत्रपछि बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र वुर्लाकोटीको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन तथा विधान मस्यौदा प्रतिवेदन प्रस्तुत गरिनेछ। विधान पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने जनाइएको छ।
महाधिवेशनमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि आमन्त्रण गरिएको छ। कुल तीन हजार ९१८ प्रतिनिधि सहभागी हुने महाधिवेशनमा थप तीन सय प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी दुई महामन्त्रीलाई दिइएको छ।
पार्टीका प्रवक्ता मनिस झा का अनुसार महाधिवेशनका लागि स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा र स्वयंसेवक परिचालनलगायत अधिकांश तयारी पूरा भइसकेको छ।
महाधिवेशनअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टी संरचना र विधान संशोधन गर्ने निर्णयसमेत गरेको छ। प्रस्तावित संशोधनअनुसार केन्द्रीय समिति १२१ सदस्यबाट बढाएर १५१ सदस्यीय बनाइनेछ। पदाधिकारी तहमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने व्यवस्था पनि समेटिएको छ।
पार्टीका सचिवालय सदस्य गणेश पराजुलीका अनुसार नयाँ व्यवस्थाअनुसार उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष पदमा कम्तीमा एक जना महिला अनिवार्य हुनेछ।
त्यस्तै संशोधित प्रस्तावअनुसार १५१ मध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनयन गर्न सक्ने व्यवस्था राखिएको छ भने बाँकी सदस्य खुला प्रतिस्पर्धाबाट चयन हुनेछन्।
रास्वपाले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा निर्धारण, विधान सुधार र नयाँ नेतृत्व चयनलाई प्राथमिकतामा राखेको जनाएको छ।







