मोदी–सी जिनपिङ भेटवार्ता सात वर्षपछि चीन पुगे मोदी, सम्बन्ध सुधारको संकेत

User Image Prime TV News एक महिना अगाडि
Image of मोदी–सी जिनपिङ भेटवार्ता सात वर्षपछि चीन पुगे मोदी, सम्बन्ध सुधारको संकेत

काठमाडौ । सात वर्षपछि चीनको भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। दुवै नेताबीच करिब ५० मिनेट लामो छलफल भएको छ, जसमा सीमा विवाद, सांस्कृतिक आदान–प्रदान र आपसी सहकार्यका विषयमा महत्वपूर्ण कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रधानमन्त्री मोदीले गत वर्ष कजानमा भएको भेटलाई स्मरण गर्दै भने, त्यो भेट उपयोगी रह्यो र त्यसपछि सीमाबाट सेना फिर्ता भएपछि शान्ति र स्थिरताको वातावरण बनेको छ। उनले विशेष प्रतिनिधिहरूबीचको संवादले सीमा विवादमा सकारात्मक प्रगति भएको जानकारी समेत दिए। साथै, कैलाश मानसरोवर यात्रा पुनः सुरु भएको र भारत–चीन सिधा उडानहरू पनि फेरि सञ्चालनमा आएका छन् भन्ने विषयमा पनि जोड दिए ।

मोदीले भारत र चीनको सहकार्यले करिब २.८ अर्ब जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्दै यसले सम्पूर्ण मानवताको हिततर्फ ढोका खोल्ने बताए । राष्ट्रपति सी जिनपिङले मोदीसँग भेट हुँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्। उनले भारत र चीन जस्ता ठूला मुलुकहरूको सहकार्य क्षेत्रीय र वैश्विक सन्दर्भमा महत्वपूर्ण हुने बताए।

दुवै नेताले भविष्यमा आपसी विश्वास र सम्मानका आधारमा सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मोदी जापान भ्रमण सकेर शनिबार साँझ चीन पुगेका हुन्। भारतीय प्रधानमन्त्री मोदी अहिले तियानजिन सहरमा आयोजना हुने दुईदिने सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुँदैछन्। यो सम्मेलनमा २० भन्दा बढी देशका नेताहरूको सहभागिता रहेको छ। मोदीले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।