मनसुनी प्रभाव सक्रिय, कोशीमा भारी वर्षा र तराईमा तातो लहरको सम्भावना
Prime TV News २ महिना अगाडि 
काठमाडौ । हाल देशमा मनसुनी वायु र पश्चिमी तथा स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही क्षेत्रमा मनसुन सक्रिय रहेको छ भने अन्य भू–भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायम छ।
देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ। अहिले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भू–भाग र कोशी प्रदेशका तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेश, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ।
दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको छ भने बागमती र गण्डकीका केही तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने देखिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा वर्षाको सम्भावना कायम रहनेछ। कोशी प्रदेशका तराई तथा मधेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्ले भारी वर्षा, चट्याङ र तातो लहरको सम्भावना रहेका क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न आग्रह गरेका छन्।







