गगन थापाद्वारा रास्वपाको महाधिवेशन सफलताको शुभकामना

User Image Prime TV News २ महिना अगाडि
Image of गगन थापाद्वारा रास्वपाको महाधिवेशन सफलताको शुभकामना

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा सभापति रवि लामिछाने र सम्पूर्ण रास्वपा परिवारलाई शुभकामना व्यक्त गरेका छन्।

आज जारी गरिएको शुभकामना सन्देशमा थापाले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा आफूलाई प्रभावशाली रूपमा स्थापित गरेको बताएका छन्।

उनले लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको उल्लेख गर्दै महाधिवेशनलाई पार्टीका लागि विचार, संगठन र नीतिगत रूपमा अझ परिपक्व, जिम्मेवार र दूरदर्शी बन्ने ऐतिहासिक अवसरका रूपमा चित्रण गरेका छन्।

शुभकामना सन्देशमा थापाले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्दै संविधानले प्रदान गरेका नागरिक अधिकारको संरक्षणमा रास्वपा अझ स्पष्ट, जवाफदेही र उत्तरदायी बन्ने अपेक्षा व्यक्त गरेका छन्।

साथै, उनले रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै सभापति लामिछानेको आगामी राजनीतिक यात्राका लागि समेत शुभेच्छा दिएका छन्।