रास्वपा महाधिवेशन उद्घाटनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपा महाधिवेशन उद्घाटनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापा आज राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्।

सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार थापा महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आज भरतपुर जाने कार्यक्रम रहेको छ। ‘सभापतिज्यू आज चितवन जानुहुन्छ, रास्वपा महाधिवेशन समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ,’ कुइँकेलले बताएका छन्।

रास्वपाले आफ्नो प्रथम महाधिवेशनका अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ। सोही क्रममा कांग्रेस सभापति थापा उद्घाटन समारोहमा सहभागी हुन लागेका हुन्। यसअघि आइतबार बिहान थापाले रास्वपा र उसका सभापति रवि लामिछानेलाई महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए।

उनले छोटो समयमै रास्वपाले उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति स्थापित गरेको बताएका छन्। शुभकामना सन्देशमा थापाले संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रालाई प्रशंसनीय उल्लेख गर्दै महाधिवेशनलाई पार्टीका लागि वैचारिक, सांगठनिक र नीतिगत परिपक्वता हासिल गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्।

उनले महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई थप सुदृढ बनाउँदै संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणका लागि पार्टीलाई अझ स्पष्ट, जवाफदेही र उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय हुने बताइएको छ ।