सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहको स्पष्टीकरण : ‘ब्रिटिसलाई मध्यस्थ बनाउन खोजेको होइन’

User Image Prime TV News २ महिना अगाडि
Image of सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहको स्पष्टीकरण : ‘ब्रिटिसलाई मध्यस्थ बनाउन खोजेको होइन’

काठमाडौ । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहले नेपाल–भारत सीमा विवाद सम्बन्धी आफ्नो पछिल्लो अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो भनाइको गलत अर्थ लगाइएको बताएका हुन्।

यसअघि प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादका विषयमा आवश्यक परे ब्रिटिसकालीन प्रमाण र दस्तावेजहरू प्रस्तुत गर्न सकिने बताएका थिए। उक्त अभिव्यक्तिपछि सीमा विवाद समाधानमा तेस्रो पक्षको भूमिका खोजिएको हो कि भन्ने प्रश्न सार्वजनिक रूपमा उठेको थियो।

यस सम्बन्धमा स्पष्ट पार्दै प्रधानमन्त्री शाहले नेपालले कालपानी र लिपुकेलक सम्बन्धी आफ्नो दाबी पुष्टि गर्ने पर्याप्त प्रमाण रहेको बताए। ‘हामीले ब्रिटिसलाई मध्यस्थ बनाउन खोजेका होइनौं। ब्रिटिस शासनकालका प्रमाण आवश्यक परे प्रस्तुत गर्न सकिन्छ भन्ने मात्र भनेका हौं,’ उनले भने।

प्रधानमन्त्री शाहले नेपालले आफ्ना छिमेकी राष्ट्रहरूसँग प्रत्यक्ष संवाद र ऐतिहासिक प्रमाणका आधारमा सीमा समस्या समाधान गर्ने नीति लिएको पनि बताए। ‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं। हामीसँग प्रमाण छ,’ उनले भने।

उनले आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न आग्रह गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षणमा सरकार दृढ रहेको उल्लेख गरे। रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको छ भने कार्यक्रममा समसामयिक राजनीतिक, आर्थिक तथा राष्ट्रिय महत्वका विषयमा धारणा राख्ने क्रम जारी छ।