‘अख्तियारसँग ५ घण्टा होइन, ५ वर्षसम्म पनि सल्लाह गर्नुपरे गर्छौ' : प्रधानमन्त्री शाह

User Image Prime TV News एक महिना अगाडि
Image of ‘अख्तियारसँग ५ घण्टा होइन, ५ वर्षसम्म पनि सल्लाह गर्नुपरे गर्छौ' : प्रधानमन्त्री शाह

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी सम्पत्तिको दोहन तथा विगतमा भएका अनियमितताका विषयमा आवश्यक परे छानबिन गर्न सरकार तयार रहेको बताएका छन्। पार्टीको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन्।

प्रधानमन्त्री शाहले आफ्नो पार्टी प्रतिशोधको राजनीतिमा विश्वास नगर्ने तर विकासका क्रममा देखिएका समस्या र अनियमितताबारे अनुसन्धान गर्न आवश्यक परे पछि नहट्ने स्पष्ट पारे। ‘हामी पुराना विषय लिएर निहुँ खोज्दै बस्ने पक्षमा छैनौं। तर अगाडि बढ्ने क्रममा विगतमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ भने त्यसको खोजबिन गर्न आवश्यक हुन्छ,’ उनले भने।

उनले कानुनी प्रक्रिया र संस्थागत प्रणालीको सम्मान गर्दै काम गरिने उल्लेख गरे। आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोग सँग लामो समयसम्म पनि परामर्श गर्न सकिने भन्दै सरकारले नियम र कानुनको सीमाभित्र रहेर मात्रै काम गर्ने बताए।

‘अख्तियारसँग ५ घण्टा होइन, ५ वर्षसम्म पनि सल्लाह गर्नुपरे गर्छौं, तर नियमभन्दा बाहिर जाँदैनौं,’ प्रधानमन्त्री शाहले भने। उनले आफ्नो पार्टीलाई विकासमुखी शक्ति भएको दाबी गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको संस्कृतिलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री शाहले विकासका कामलाई तीव्रता दिने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने विषयमा सरकार गम्भीर रहेको उल्लेख गरे ।