कांग्रेस र रास्वपा प्रतिस्पर्धी हुन्, दुश्मन होइनन् : गगन थापा
Prime TV News २ महिना अगाडि 
चितवन । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी बीच राजनीतिक प्रतिस्पर्धा भए पनि दुश्मनी नरहेको बताएका छन्।
आइतबार रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको धारणा राखे। ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौं,’ उनले भने, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ। हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं र एक दिन बन्छौं पनि।’
थापाले कांग्रेस रास्वपालाई कमजोर बनाएर वा उसको राजनीतिक प्रभाव घटाएर अघि बढ्ने सोचमा नरहेको स्पष्ट पारे। बरु आफ्नै संगठन र कार्यशैलीलाई सुधार गरेर जनविश्वास जित्ने लक्ष्य रहेको उनको भनाइ थियो। ‘तर तपाईंहरूलाई सानो बनाएर होइन, तपाईंहरूको खुट्टा काटेर होइन। मन, वचन र कर्मले इमानदारीपूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,’ उनले भने।
उनले कांग्रेसभित्र रहेका कमजोरी र विकृतिलाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै पार्टीलाई थप स्वच्छ, उत्तरदायी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन। हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं,’ थापाले भने।







