संविधान संशोधनमा उपेन्द्र यादव र राजेन्द्र लिङ्देनको जोड
Prime TV News एक महिना अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधानमा आवश्यक सुधार र संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै दुवै नेताले वर्तमान संविधानमा केही सकारात्मक पक्ष भए पनि त्रुटि र विरोधाभास रहेको टिप्पणी गरे। उपेन्द्र यादवले संविधानले गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताजस्ता महत्वपूर्ण उपलब्धिहरू समेटे पनि कार्यान्वयनका क्रममा कमजोरी देखिएको बताए।
उनले संविधान संशोधनमार्फत ती विकृति र असन्तुलन हटाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसतर्फ राजनीतिक दलहरू गम्भीर हुनुपर्ने धारणा राखे। ‘संविधान त्रुटिपूर्ण छ, विरोधाभाष पनि छ। महत्वपूर्ण पक्षहरू पनि छन्,’ यादवले भने, ‘संविधानमा रहेका विकृति–विसंगतिहरू हटाएर अघि बढ्नुपर्ने दायित्व पनि यहाँहरूको हो।’
२०७२ सालको संविधान जारी हुँदा मधेश केन्द्रित दलहरूले अधिकार सुनिश्चित नभएको भन्दै विरोध गरेका प्रसङ्गलाई स्मरण गर्दै उनले पुनः सुधारको आवश्यकता रहेको बताए।
त्यसैगरी, राजेन्द्र लिङ्देनले पनि संविधान र राजनीतिक नेतृत्व दुवैमा सुधारको खाँचो रहेको उल्लेख गरे। उनले वर्तमान प्रणाली र व्यवस्थापनमा देखिएका समस्याहरू समाधान गर्न संवैधानिक पुनरावलोकन आवश्यक भएको धारणा राखे।
‘पुराना दल र तिनका नेतामा मात्रै समस्या होइन, उनीहरूले ल्याएको संविधानमा पनि समस्या छ,’ लिङ्देनले भने, ‘त्यसैले सुधारेर जानुपर्छ।’ रास्वपाको महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले संविधान, सुशासन, राजनीतिक सुधार र देशको भावी दिशाबारे धारणा राखिरहेका छन्।







