'गोल हान्ने जिम्मा बालेनजीको' : रवि लामिछाने

User Image Prime TV News एक महिना अगाडि
Image of 'गोल हान्ने जिम्मा बालेनजीको' : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले आफ्नो पार्टीलाई कमजोर बनाउन वा लडाउन सक्ने शक्ति अबको युगमा नरहेको दाबी गरेका छन्।

पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीभित्रैका कमजोरीबाहेक बाह्य शक्तिले रास्वपालाई असर गर्न नसक्ने बताएका हुन्। ‘मैले विगतमा पनि भनेको छु, रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झिएर लड्छ,’ उनले भने, ‘यसलाई लडाउने अरुको तागत छैन, र अबको युगमा त्यस्तो शक्ति आउने छैन।’

लामिछानेले राजनीतिक दलहरूबीच विभाजन ल्याएर नियन्त्रण गर्ने “फुटाउ र राज गर” जस्ता रणनीति प्रयोग हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन कार्यकर्तालाई आग्रह गरे। उनले संगठनलाई एकताबद्ध, अनुशासित र लक्ष्य केन्द्रित बनाएर अघि बढेमा रास्वपाले देशको राजनीतिक परिदृश्यमा दीर्घकालीन प्रभाव पार्न सक्ने विश्वास पनि व्यक्त गरे । 

साथै उनले सरकार सञ्चालन र राजनीतिक सहकार्यका विषयमा बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताएका छन्। सभापति लामिछानेले चुनावअघि बनेको समझदारीअनुसार सरकार सञ्चालनको नेतृत्व बालेन शाहले नै गर्ने बताएका हुन्।

‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्‍याइसकेको छ। अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,’ लामिछानेले भने, ‘झुक्किएर त्यो बल कहीँ आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।’

उनको अभिव्यक्तिमा सहभागीहरूले ताली बजाएर समर्थन जनाएका थिए। लामिछानेले राजनीतिक आलोचना र आरोप–प्रत्यारोपभन्दा काम र परिणामलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले आफू व्यक्तिगत विवादमा नअल्झिने उल्लेख गर्दै इतिहासले मूल्यांकन गर्ने गरी जिम्मेवार भूमिकामा केन्द्रित रहने धारणा राखे।

‘यहाँ मुख मिठ्याउनेहरू पनि धेरै छन्, चुक्ली लगाइदिने पनि धेरै छन्,’ उनले भने, ‘म तिनलाई जवाफ दिन बोलिरहेको छैन, म त इतिहासलाई जवाफ दिन बोलिरहेको छु।’