एमाले पुनर्गठनको बाटोमा, सबै अटाउनेछन् : योगेश भट्टराई
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले पुनर्गठनको प्रक्रियामा रहेको भन्दै पार्टीभित्रका सबै पक्ष र विचार समूहलाई समेटेर अघि बढाइने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत ‘एमालेजनमा निवेदन’ शीर्षकमा सन्देश जारी गर्दै भट्टराईले पार्टीभित्र चलिरहेको बहसलाई सकारात्मक रूपमा लिन आग्रह गरेका छन्। उनले विभिन्न विचार र धारणा राख्ने नेताहरू तथा कार्यकर्ताप्रति असहिष्णु व्यवहार गर्नु एमालेको स्थापित संस्कृति र परम्पराविपरीत हुने बताएका छन्।
उनका अनुसार एमालेभित्र अहिले पार्टीको वैचारिक, राजनीतिक, सांगठनिक तथा नेतृत्व शैलीबारे गम्भीर बहस चलिरहेको छ। यो बहस पार्टीका आन्तरिक कमिटीमा मात्र सीमित नरही सञ्चारमाध्यम र सार्वजनिक क्षेत्रसम्म पुगेको उनले उल्लेख गरेका छन्।
भट्टराईले पार्टीभित्र व्यापक पुनर्गठन गरेर एमालेको पुनर्जागरण गर्ने पक्ष र यथास्थितिलाई निरन्तरता दिने पक्षबीच बहस भइरहेको बताए। तर अन्ततः यो प्रक्रिया पार्टी पुनर्गठनकै निष्कर्षमा पुग्ने उनको विश्वास छ।
उनले राजनीतिक बहसले पार्टीलाई कमजोर नभई अझ बलियो बनाउने तर्क गर्दै पूर्व नेताहरू मनमोहन अधिकारी, सीपी मैनाली र मदन भण्डारी को उदाहरण दिएका छन्। फरक मत राख्ने नेताहरूलाई सम्मानपूर्वक साथ लिएर अघि बढ्नु नै एमालेको संस्कृति भएको उनको भनाइ छ।
भट्टराईले समयअनुकूल पार्टी पुनर्गठन हुने, निषेधकारी व्यवहारको अन्त्य गरिने तथा पार्टीलाई सामूहिक र संस्थागत ढंगले सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफूहरू मदन भण्डारीको राजनीतिक विरासतलाई अगाडि बढाउने उत्तराधिकारी भएको पनि बताएका छन्।







