प्रतिनिधि विवादले रास्वपा महाधिवेशनको बन्दसत्र प्रभावित
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन। प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने काम नसकिँदा बन्दसत्रको समय लम्बिएको हो।
आज बिहान साढे ८ बजेबाट बन्दसत्र सुरु गर्ने कार्यतालिका तय गरिएको भए पनि प्रतिनिधिहरूको अन्तिम सूची टुंगो नलाग्दा कार्यक्रम प्रभावित भएको हो। रास्वपाको निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूको नामावली मिलाउने काम जारी छ।
नाम, थर र ठेगानामा त्रुटि देखिएकाले धेरै प्रतिनिधिको परिचयपत्र (कार्ड) तयार गर्न समस्या भएको उनले बताए। विशेषगरी मधेस प्रदेशलगायत केही क्षेत्रका प्रतिनिधि चयनबारे समेत विवाद देखिएको नेताहरूले बताएका छन्। यही कारण बन्दसत्र अपराह्नसम्म मात्र सुरु हुन सक्ने अनुमान गरिएको छ।
निर्वाचन समितिले आइतबार करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। तर त्यसपछि विभिन्न त्रुटि र विवादबारे गुनासो आएपछि सूची सच्याउने काम भइरहेको छ। हाल बन्दसत्रस्थल वरपर देशभरबाट आएका प्रतिनिधिहरूको उल्लेख्य भीड देखिएको छ।
बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेज प्रस्तुत गर्ने कार्यसूची रहेको छ। महाधिवेशनबाट पार्टीको भावी संगठनात्मक दिशा र नेतृत्व चयन प्रक्रियाका आधार तय हुने अपेक्षा गरिएको छ।







