रास्वपाको प्रथम महाधिवेशन एक दिन थपिने
Prime TV News ४ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी प्रथम महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिने भएको छ।
आइतबारदेखि सुरु भएको महाधिवेशन मंगलबारसम्म सम्पन्न गर्ने कार्यतालिका रहे पनि प्रतिनिधि व्यवस्थापन र कार्यक्रम सञ्चालनमा देखिएका चुनौतीका कारण महाधिवेशनको अवधि थपिएको हो। पार्टीका प्रवक्ता मनिष झा ले महाधिवेशन एक दिन थपिने जानकारी दिएका छन्।
उनका अनुसार सुरुमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको थियो। तर अपेक्षाभन्दा धेरै प्रतिनिधि उपस्थित भएपछि व्यवस्थापनमा समस्या उत्पन्न भएको हो। उनले प्रतिनिधिको संख्या करिब ४ हजार ५०० पुग्ने अनुमान गरिएको बताए।
अनुमानभन्दा धेरै सहभागिता हुनु सकारात्मक पक्ष भए पनि त्यसअनुसार आवश्यक व्यवस्थापन गर्न नसकिएको स्वीकार गरेका छन्। “सुरुमा ३ हजार प्रतिनिधि हुनुहोला भन्ने अनुमान थियो, तर धेरै प्रतिनिधि आउनुभयो। आकलनभन्दा उत्साहजनक सहभागिता रह्यो। त्यसलाई नकार्न सकिँदैन, तर व्यवस्थापनमा हाम्रो कमजोरी भयो,” प्रवक्ता झाको भनाइ उद्धृत गर्दै पार्टी स्रोतले जनाएको छ।
प्रतिनिधिको नामावली, परिचयपत्र वितरण तथा बन्दसत्र सञ्चालनमा देखिएका प्राविधिक र व्यवस्थापकीय समस्याका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। महाधिवेशनमा विधान संशोधन, राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल र भावी नेतृत्व चयनका विषय मुख्य एजेन्डाका रूपमा रहेका छन्।







