रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय खारेज, असन्तुष्टि देखियो
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीमा संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय खारेज भएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ।
असार ४ गते बसेको सचिवालय बैठकले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समितिमा समेट्ने निर्णय गरी सर्कुलर जारी गरेको थियो। तर पछि समायोजन प्रक्रियामा आएका नेताहरूले त्यसको विरोध गरेपछि उक्त निर्णयबाट पार्टी पछि हटेको स्रोतले जनाएको छ।
एक संस्थापक सदस्यका अनुसार समायोजनमा आएका ५१ जना नेताहरूलाई केन्द्रीय समितिमा समेट्दा संस्थापक सदस्यहरूलाई पनि समान रूपमा समावेश गर्नुपर्ने माग उठाइएको थियो। उनका अनुसार, “सचिवालय बैठकपछि संस्थापक सदस्यलाई स्वतः केन्द्रीय सदस्य बनाउने सर्कुलर आएको थियो। तर समायोजनमा आएकाले विरोध गरेपछि निर्णय सच्याइएको जानकारी आयो।”
पार्टीभित्र देखिएको यो विवाद हाल चितवनमा जारी प्रथम महाधिवेशनसँगै सतहमा आएको छ। महाधिवेशनमै नेतृत्व चयन, संरचना समायोजन र संगठनात्मक पुनर्संरचनाबारे बहस चलिरहेको अवस्थामा यो विषयले थप ध्यान खिचेको छ।







