देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना, पश्चिम तराईमा अझै तातो लहर कायम

User Image Prime TV News ४ हप्ता अगाडि
Image of देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना, पश्चिम तराईमा अझै तातो लहर कायम

काठमाडौ । देशका विभिन्न क्षेत्रमा मनसुन क्रमशः फैलिन थालेसँगै वर्षा हुने क्षेत्र बढ्दै गएको छ भने तातो हावाको प्रभाव केही सीमित बन्दै गएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै स्थानमा बादल लाग्ने र केही क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार दिउँसो हिमाली तथा पहाडी भूभाग र कोसी प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ। कोसी प्रदेशको तराई तथा मधेस, वाग्मती र गण्डकीका केही तराई क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको छ।

यद्यपि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तातो हावा र तातो दिनको अवस्था कायम रहने अनुमान गरिएको छ। वाग्मती र गण्डकीका तराई क्षेत्रमा पनि तापक्रम उच्च रहने सम्भावना छ।

रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रहने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

हाल कोसी, मधेस र वाग्मती प्रदेशका अधिकांश भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविद्हरूले बताएका छन्।

यस वर्ष मनसुन औसत मितिभन्दा केही ढिलो नेपाल प्रवेश गरेको र देशभर फैलिन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । जलवायुविज्ञहरूको अनुमानअनुसार आगामी केही दिनमा मनसुन थप पश्चिमतर्फ विस्तार हुने सम्भावना छ। तर पश्चिम नेपालमा वर्षायामको जस्तो निरन्तर वर्षा देखिन अझ केही दिन लाग्न सक्ने जनाइएको छ।