अशोक राईद्वारा ‘समाजवादी पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

User Image Prime TV News ४ हप्ता अगाडि
Image of अशोक राईद्वारा ‘समाजवादी पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौ । अशोक राई नेतृत्वको समूहले नयाँ राजनीतिक दल ‘समाजवादी पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। सोमबार आयोगमा दर्ता गराइएको निवेदनमा ८ जना पदाधिकारीसहित २८ सदस्यीय केन्द्रीय समितिको नामावली पेश गरिएको जनाइएको छ।

नयाँ पार्टीको अध्यक्षमा अशोक कुमार राई रहेका छन् भने उपाध्यक्षहरूमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दानबहादुर विश्वकर्मा छन्। त्यस्तै शरण कुमार राई उपमहासचिव तथा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भिमबहादुर तामाङ सचिवको जिम्मेवारीमा रहेका छन्।

यसअघि अशोक राई नेतृत्वको समूहले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट अलग भई नयाँ दल गठन गरेको थियो। तर उक्त पार्टी विभाजनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले राई नेतृत्वको दललाई कानुनी मान्यता नदिएपछि उक्त समूह दलविहीन बनेको थियो।

सर्वोच्च अदालतको फैसलापछि उत्पन्न कानुनी जटिलता समाधान गर्न नयाँ पार्टी दर्ताको प्रक्रिया अघि बढाइएको अध्यक्ष राईले बताएका छन्। उनका अनुसार समूह राजनीतिक र संगठनात्मक रूपमा सक्रिय रहे पनि अदालतको फैसलाका कारण पार्टीको कानुनी अस्तित्वमा समस्या देखिएको थियो।

नवगठित समाजवादी पार्टीले नेपाली विशेषताअनुसारको समाजवादलाई आफ्नो राजनीतिक मार्गदर्शक सिद्धान्त बनाउने जनाएको छ। पार्टीले समावेशी लोकतन्त्र, सामाजिक न्यायसहितको संघीयता, सुशासन र समृद्धिलाई प्रमुख राजनीतिक कार्यदिशाका रूपमा अघि बढाउने बताएको छ।

पार्टीका सचिव मनिकर कार्कीले निर्वाचन आयोगबाट औपचारिक मान्यता प्राप्त भएपछि संगठन निर्माण तथा पार्टी विस्तारलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गरिने जानकारी दिए।