सार्वजनिक सवारीसाधन दर्ता आंशिक रूपमा खुला, एलसी खोलिएका सवारी दर्ता गर्न पाइने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of सार्वजनिक सवारीसाधन दर्ता आंशिक रूपमा खुला, एलसी खोलिएका सवारी दर्ता गर्न पाइने

काठमाडौ । सरकारले रोक लगाएको सार्वजनिक सवारीसाधनको नयाँ दर्ता प्रक्रिया आंशिक रूपमा खुला गरेको छ। यातायात व्यवस्था विभागले पूर्वनिर्धारित निर्णयभन्दा अघि एलसी (प्रतितपत्र) खोलिएका तथा आयात प्रक्रिया अघि बढिसकेका सवारीसाधन दर्ता गर्न सकिने व्यवस्था गरेको हो।

विभागले असार ८ गते जारी गरेको पत्रमार्फत २०८३ जेठ ७ गतेको निर्णयअनुसार सार्वजनिक सवारीसाधनको नयाँ दर्ता अर्को सूचना जारी नभएसम्म रोकिएको स्पष्ट पारेको छ। तर उक्त निर्णय लागू हुनुअघि नै एलसी खोलिएका, आयात प्रक्रिया अघि बढेका तथा नेपाल भित्रिइसकेका सवारीसाधनका कागजात परीक्षण गरी दर्ता प्रक्रिया अघि बढाउन सकिने उल्लेख गरिएको छ।

सरकारको दर्ता रोक्ने निर्णयपछि यातायात व्यवसायीहरू असन्तुष्ट बनेका थिए। नेपाल ट्रक यातायात व्यवसायी महासंघले निर्णय तत्काल पुनर्विचार गर्न माग गर्दै यसले व्यवसायीलाई ठूलो आर्थिक दबाब परेको बताएको थियो।

महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँका अनुसार बैंक ऋणमा खरिद गरिएका, बडी निर्माण भइसकेका तथा सञ्चालनका लागि तयार सवारीसाधन दर्ता नहुँदा व्यवसायीको लगानी जोखिममा परेको थियो। उनले दर्ता रोक्का हुँदा बैंक ब्याज बढ्दै गएको र सवारीसाधन पार्किङमै थन्किन बाध्य भएको बताएका थिए।

महासंघले जेठ ८ गते वा सोभन्दा अघि एलसी खोलिएका तथा आयात प्रक्रिया पूरा भइसकेका सवारीसाधनलाई दर्ता गर्न माग गर्दै सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको थियो। विभागको पछिल्लो निर्णयपछि महासंघले आंशिक राहत प्राप्त भएको प्रतिक्रिया दिएको छ। अध्यक्ष बानियाँले भविष्यमा सार्वजनिक सवारीसाधनसम्बन्धी नीति बनाउँदा सरोकारवालासँग परामर्श गरी अध्ययन–अनुसन्धानका आधारमा मात्र निर्णय लिन सरकारलाई आग्रह गरेका छन्।

उनका अनुसार तथ्यमा आधारित नीति नबन्दा यातायात व्यवसाय, बैंकिङ क्षेत्र र सार्वजनिक सेवा प्रणालीसमेत प्रभावित हुन सक्ने भएकाले दीर्घकालीन समाधान आवश्यक रहेको छ।