रास्वपा महाधिवेशनमा आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपा महाधिवेशनमा आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुने

चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने भएको छ।

बन्दसत्र सोमबार सुरु हुने कार्यतालिका रहे पनि विभिन्न कारणले मंगलबार मात्रै प्रारम्भ भएको हो। बन्दसत्र सुरु भएसँगै निर्वाचनसम्बन्धी प्रक्रिया पनि आजै अघि बढाइने तयारी गरिएको केन्द्रीय निर्वाचन आयोग स्रोतले जनाएको छ।

स्रोतका अनुसार समय केही ढिलो भए पनि उम्मेदवारी दर्तालगायतका निर्वाचन कार्यक्रम मंगलबार नै सुरु गरिनेछ। महाधिवेशनमा सभापति पदमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी भइरहेको बताइएको छ। यद्यपि केन्द्रीय समिति सदस्यका पदमा भने प्रतिस्पर्धात्मक निर्वाचन हुने देखिएको छ।

पार्टीको संशोधित विधानअनुसार ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछन्। तीमध्ये सातवटै प्रदेशबाट अनिवार्य रूपमा पाँच–पाँच जना प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ, जसमा प्रत्येक प्रदेशबाट कम्तीमा दुई महिला सदस्य निर्वाचित हुनुपर्ने प्रावधान छ।

बाँकी ६४ केन्द्रीय सदस्य पदका लागि खुला प्रतिस्पर्धा हुनेछ। निर्वाचन आयोगले उम्मेदवारी दर्ता तथा मतदानको विस्तृत कार्यतालिका भने अझै सार्वजनिक गरेको छैन। केन्द्रीय सदस्य र सभापति चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीहरूको निर्वाचन प्रक्रिया सञ्चालन गरिने जनाइएको छ।

रास्वपाले बुधबारसम्म महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व, संगठनात्मक संरचना तथा आगामी राजनीतिक कार्यदिशा तय हुने अपेक्षा गरिएको छ ।