रास्वपामा पदाधिकारी चयनको रस्साकस्सी, सहमतिमै टुंग्याउने प्रयास

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपामा पदाधिकारी चयनको रस्साकस्सी, सहमतिमै टुंग्याउने प्रयास

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयन प्रक्रिया अगाडि बढ्दै जाँदा पदाधिकारी पदका आकांक्षीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। पार्टीभित्र पदाधिकारी चयन निर्वाचनमार्फत गर्ने कि सहमतिमा टुंग्याउने भन्ने विषयमा बहस पनि तीव्र बनेको छ।

पार्टी स्रोतका अनुसार केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेपछि पदाधिकारी भने सहमतिमार्फत चयन गर्नुपर्ने मत बलियो देखिएको छ। यद्यपि, केही नेताहरूले प्रतिस्पर्धात्मक निर्वाचनलाई नै लोकतान्त्रिक अभ्यासको रूपमा अघि बढाउनुपर्ने धारणा राखिरहेका छन्।

सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भइसकेका छन्। अब मुख्य चासो उपसभापति, महामन्त्री र सहमहामन्त्री पदतर्फ केन्द्रित भएको छ। उपसभापतिमा स्वर्णिम वाग्लेको दाबेदारी स्वाभाविक मानिए पनि डीपी अर्यालको राजीनामापछि रिक्त रहेको अर्को उपसभापति पदमा प्रतिस्पर्धा देखिएको छ।

कोषाध्यक्ष लिमा अधिकारी, सहमहामन्त्री प्रतिभा रावल तथा सांसद सोविता गौतमको नाम चर्चामा छ। पार्टीभित्र अधिकारी र रावलमध्ये एक जनाको सम्भावना बलियो रहेको चर्चा भइरहेको छ।  यसैबीच, पार्टीभित्रको अर्को शक्ति केन्द्र मानिने बालेन्द्र शाह (बालेन) निकट समूहबाट पनि एक उपसभापति चयन हुन सक्ने चर्चा छ।

उक्त समूहबाट सुनिल लम्साल र सुधन गुरुङको नाम चर्चामा रहे पनि लम्सालको सम्भावना तुलनात्मक रूपमा बलियो रहेको बताइन्छ। महामन्त्री पदमा भने सबैभन्दा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित शिशिर खनाल, विपिन आचार्य, मनिष झा र गणेश पराजुलीलगायत नेताहरूले दाबी प्रस्तुत गरिरहेका छन्।

आचार्य र झा दुवै पार्टी नेतृत्वसँग निकट सम्बन्ध भएका नेताका रूपमा चिनिन्छन्। सहमहामन्त्री पदका लागि पनि आकांक्षीहरूको संख्या उल्लेख्य छ। रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले सार्वजनिक रूपमै उम्मेदवारी घोषणा गरिसकेका छन्। साथै दीपक बोहोरा, क्रान्तिशिखा धिताल र निशा डाँगीको नाम पनि चर्चामा रहेको छ।

पार्टी स्रोतहरूका अनुसार मनोनयनबाट पूर्ति गरिने केही पदमा बालेन समूहको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ। उपसभापतिमा सुनिल लम्साल, महामन्त्रीमा भूपदेव शाह तथा सहमहामन्त्रीमा सुदीप ढकालको नाम सम्भावित रूपमा अघि सारिएको चर्चा छ। यद्यपि, यसबारे पार्टीले कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन।

पदाधिकारी चयनको अन्तिम टुंगो कसरी लाग्छ भन्ने विषयले अहिले रास्वपाभित्रको राजनीतिक समीकरण र शक्ति सन्तुलनलाई थप रोचक बनाएको छ।