रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्य चयन प्रक्रिया रातभर चल्ने
Prime TV News ३ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। सभापति पदमा उनको एकल उम्मेदवारी परेपछि निर्वाचन प्रक्रिया बिना नै नेतृत्वमा उनको निरन्तरता सुनिश्चित भएको हो।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार सभापति पदका लागि लामिछानेबाहेक अन्य कुनै उम्मेदवारी नपरेकाले उनी निर्विरोध निर्वाचित भएका हुन्। लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई प्रस्तावक बनाएर उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवारी दर्तापछि लामिछाने र शाह निर्वाचन आयोग सचिवालयको बरन्डामा सँगै उपस्थित भई महाधिवेशन प्रतिनिधिहरूलाई अभिवादन गरेका थिए।
सभापतिको टुंगो लागेसँगै अब पार्टीको ध्यान केन्द्रीय सदस्य चयन प्रक्रियामा केन्द्रित भएको छ। संशोधित निर्वाचन कार्यतालिका अनुसार केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध, छानबिन र अन्तिम नामावली प्रकाशनको सम्पूर्ण प्रक्रिया मंगलबार रातभर सञ्चालन हुनेछ।
निर्वाचन आयोगले साँझ ७:३० बजेदेखि ९:३० बजेसम्म उम्मेदवारी फारम वितरण तथा दर्ताको समय निर्धारण गरेको छ। उम्मेदवारी दर्ता सम्पन्न भएपछि राति १० बजे प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। त्यसपछि उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्न राति १०:३० बजेसम्म समय दिइएको छ। प्राप्त उजुरी तथा दाबी–विरोधमाथि राति ११ बजेसम्म छानबिन गरिनेछ भने उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारलाई राति ११:१५ बजेसम्मको समयसीमा तोकिएको छ।
निर्वाचन आयोगले राति ११:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र सोही समयदेखि मौन अवधि सुरु हुने जनाएको छ। कार्यतालिका अनुसार बुधबार बिहानदेखि पहिलो चरणको मतदान सुरु हुनेछ। मतदान सम्पन्न भएको करिब दुई घण्टापछि मतगणना सुरु गरी नतिजा सार्वजनिक गरिने व्यवस्था गरिएको छ।
रास्वपाको नेतृत्व चयन प्रक्रियालाई पार्टीको आगामी संगठनात्मक दिशा र शक्ति सन्तुलन निर्धारण गर्ने महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ।







