एमालेको आरोप: सरकार पूर्वाग्रही, उपाध्यक्ष पौडेलको गिरफ्तारी गैरकानुनी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले आफूलाई लक्षित गर्दै पूर्वाग्रहपूर्ण व्यवहार गरेको निष्कर्ष निकालेको छ। मंगलबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकपछि एमालेले सरकारका पछिल्ला कदमहरू अनुचित र एकतर्फी भएको आरोप लगाएको हो।
बैठकपछि उपमहासचिव लेखराज भट्टले सरकारले एमाले लक्षित गतिविधि बढाएको दाबी गर्दै पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई गैरकानुनी, प्रतिशोधपूर्ण र पूर्वाग्रही भएको बताए। सुर्खेतमा आयोजित एक पार्टी कार्यक्रममा सहभागी रहेका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरी काठमाडौं ल्याइएको घटनाप्रति एमालेले आपत्ति जनाएको छ।
पार्टीले उक्त गिरफ्तारी गर्ने निकायको अधिकार क्षेत्रभित्रै नपर्ने विषयमा कारबाही गरिएको दाबी गरेको छ। उपमहासचिव भट्टका अनुसार पौडेल काठमाडौँ फर्किन तयारी अवस्थामा रहेका बेला सुर्खेतमै पक्राउ गरिएको हो। उनले भने, “जुन निकायले पक्राउ गर्यो, त्यसको कार्यक्षेत्रभित्र यो विषय पर्दैन भन्ने हाम्रो ठहर छ, त्यसैले यो प्रक्रिया कानुनसम्मत छैन।”
एमालेले अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गरी हिरासतमा राख्ने अनुमति दिएको निर्णय पनि अपेक्षित र न्यायोचित नभएको टिप्पणी गरेको छ। पार्टीले उपाध्यक्ष पौडेलको तत्काल र निःशर्त रिहाइको माग गरेको छ। साथै सरकारलाई एमाले लक्षित गतिविधि रोक्न चेतावनी दिँदै भविष्यमा कानुनी तथा राजनीतिक कदम चाल्ने संकेत गरेको छ।
बैठकमा नेताहरूले घटनालाई अत्यन्त गम्भीर रूपमा लिएको जनाउँदै आवश्यक परे थप निर्णय समयानुकूल लिइने बताएका छन्।







