नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट आज

User Image Prime TV News २ घण्टा अगाडि
Image of नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट आज

काठमाडौ । भारी वर्षाका कारण प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा भैरहवामा अलपत्र परेका सयौं यात्रुहरूलाई काठमाडौं ल्याउन नेपाल वायुसेवा निगमले आज चार्टर्ड फ्लाइट सञ्चालन गर्ने भएको छ। आइतबार राति नै उडान गराउने तयारी गरिएको भए पनि आवश्यक पूर्वतयारी पूरा नहुँदा उडान स्थगित गरिएको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, अब उडान सोमबार दिउँसो २:४५ बजेका लागि तय गरिएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले विमान आज दिउँसो १ बजे काठमाडौंबाट भैरहवा आउने र यात्रु लिएर २:४५ बजे काठमाडौं फर्किने जानकारी दिएका छन्। टिकट काट्ने प्रणालीमा समस्या आएपछि प्रशासनले यात्रुहरूको नाम सूची संकलन गरी प्राथमिकता अनुसार उडानमा समावेश गर्ने व्यवस्था मिलाएको छ।

नेपाल वायुसेवा निगमले १५८ सिट क्षमताको एयरबस ए ३०२ विमान प्रयोग गरेर उडान गर्नेछ। निगमले नागरिक उड्डयन प्राधिकरणबाट आइतबार साँझ काठमाडौं–भैरहवा–काठमाडौं मार्गको उडान अनुमति लिइसकेको थियो। यात्रुहरूको चाप र आकस्मिक अवस्थालाई मध्यनजर गर्दै निगमले भाडा दर पनि तोकेको छ । काठमाडौं–भैरहवा मार्गका लागि ५ हजार रुपैयाँ र भैरहवा–काठमाडौंका लागि ७ हजार रुपैयाँ कायम गरेको छ । 

प्रशासनले उपचारको लागि काठमाडौं जानुपर्ने बिरामीहरू, विदेश जान टिकट लिइसकेका विद्यार्थी तथा कामदार, र पर्यटकहरूलाई प्राथमिकतामा राखेर उडानमा समावेश गर्ने जनाएको छ। यस उडानले सडक अवरुद्धताका कारण असहज अवस्थामा परेका यात्रुहरूलाई ठूलो राहत पुर्‍याउने विश्वास गरिएको छ।