नेप्से परिसूचक १४ दशमलव ४५ अङ्कले घट्यो, कारोबार ४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली शेयर बजारमा गिरावटको क्रम बिहीबार पनि जारी रहेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक १४ दशमलव ४५ अङ्कले घटेर दुई हजार ६ सय ६० दशमलव शून्य २ विन्दुमा झरेको छ।
आज तीन सय ३८ कम्पनीका एक करोड सात लाख ७७ हजार पाँच सय ८२ कित्ता शेयर ७२ हजार नौ सय १७ पटक खरिद–बिक्री हुँदा कुल चार अर्ब ४१ करोड ८६ लाख सात हजार चार सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा फाइनान्स र ट्रेडिङ समूहबाहेक सबै उपसमूहका सूचक घटेका छन्। यसले बजारमा बिक्री चाप कायम रहेको देखाएको छ। आज टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै भुजुङ हाइड्रोपावरको शेयर मूल्य १४ दशमलव ६९ प्रतिशतले बढेको छ।
गिरावटतर्फ सोपान फार्माको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव शून्य ५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा अङ्खु खोला जलविद्युत् कम्पनी अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको २९ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि सोपान फार्माको १७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
लगातारको गिरावटका बाबजुद कारोबार रकम चार अर्ब रुपैयाँभन्दा माथि रहनुले बजारमा लगानीकर्ताको सक्रियता कायम रहेको देखिएको छ।







