रास्वपा केन्द्रीय सदस्य निर्वाचन: ३८४ उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक
Prime TV News ३ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले बिहीबार प्रारम्भिक नामावली सार्वजनिक गर्दै ३८४ जनाको नाम समावेश गरिएको जनाएको छ। अब दाबी–विरोध तथा आवश्यक प्रक्रिया पूरा भएपछि अन्तिम नामावली प्रकाशित गरिनेछ। रास्वपाको संशोधित विधानअनुसार केन्द्रीय समितिमा कुल १५८ सदस्य रहने व्यवस्था छ।
तीमध्ये ९९ जना प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनयन गर्ने अधिकार रहनेछ। साथै सातवटै प्रदेशका सभापतिहरू पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहनेछन्। चितवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया सञ्चालन गर्ने तयारी भए पनि तोकिएको समय बिहान ९ बजेसम्म मतदान सुरु हुन सकेको छैन।
उम्मेदवारको सूची व्यवस्थापन, दाबी–विरोध तथा विद्युतीय मतदानसम्बन्धी प्राविधिक प्रक्रियाका कारण ढिलाइ भएको जनाइएको छ। यसअघि पार्टी सभापति पदमा Rabi Lamichhane निर्विरोध निर्वाचित भइसकेका छन्। अब महाधिवेशनको मुख्य ध्यान केन्द्रीय सदस्य चयनतर्फ केन्द्रित भएको छ।
केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा पदाधिकारी चयन प्रक्रिया अघि बढ्नेछ। महाधिवेशनस्थलमा उम्मेदवारहरू प्रतिनिधिहरूसँग भेटघाट तथा मत माग्ने कार्यमा व्यस्त रहेका छन्।







