रास्वपा महाधिवेशनमा साँझ ७ः३० वजे देखि मतदान
Prime TV News ३ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि ३८४ जनाको उम्मेदवारी परेको छ।
निवर्तमान प्रवक्ता मनिष झा ले प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भएपछि ३८४ जनाको उम्मेदवारी कायम रहेको जानकारी दिएका हुन्। रास्वपाको ९९ सदस्यीय निर्वाचित केन्द्रीय समिति चयनका लागि आज साँझ साढे ७ बजेदेखि मतदान सुरु हुने तयारी गरिएको छ।
पार्टीका अनुसार मतदान प्रक्रिया करिब चार घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने मतपरिणाम मतदान सकिएको करिब दुई घण्टाभित्र सार्वजनिक गर्ने योजना छ। महाधिवेशनमा देशभरबाट करिब ४ हजार १ सय प्रतिनिधि सहभागी भएका छन्। विद्युतीय मतदान प्रणालीमार्फत मतदान हुने भएकाले एक प्रतिनिधिलाई मत हाल्न अधिकतम २० मिनेटसम्म लाग्न सक्ने जनाइएको छ।
केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि भोलि बिहान दोस्रो चरणअन्तर्गत पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सञ्चालन गरिनेछ। यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब महाधिवेशनको मुख्य चासो केन्द्रीय सदस्य र पदाधिकारी चयनतर्फ केन्द्रित भएको छ।







