ललितपुर महानगरको ७ अर्ब ४८ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक

User Image Prime TV News ३ हप्ता अगाडि
Image of ललितपुर महानगरको ७ अर्ब ४८ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधबार आयोजित नगरसभामा महानगरपालिकाकी उपप्रमुख  मञ्जली शाक्य बज्राचार्यले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन्। बजेटअनुसार चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षमा यस शीर्षकमा २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको थियो। कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता तथा अन्य प्रशासनिक दायित्व बढेकाले चालु खर्चमा वृद्धि गरिएको महानगरले जनाएको छ।

महानगरका अनुसार चालु खर्च गत वर्षको तुलनामा करिब २८ करोड रुपैयाँले बढेको हो, जुन चालु वर्षको विनियोजनभन्दा करिब ९ प्रतिशत बढी हो। यस्तै, पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ छुट्याइएको थियो।

संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने पुँजीगत अनुदानमा कमी आएकाले आगामी आर्थिक वर्षका लागि पुँजीगत खर्च करिब २७ करोड रुपैयाँले घटाइएको महानगरले जनाएको छ। महानगरले आगामी बजेटमार्फत पूर्वाधार विकास, शहरी सेवा विस्तार, वातावरण संरक्षण, सामाजिक विकास तथा सुशासनका कार्यक्रमलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।