आज निर्जला एकादशी : श्रीहरि आराधना, व्रत र दानको विशेष महत्त्व
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई हिन्दु धर्ममा विशेष महत्वका साथ निर्जला एकादशीका रूपमा मनाइन्छ।
भगवान् विष्णु तथा श्रीहरिको प्रिय तिथि मानिने यस दिन भक्तजनले उपवास, पूजा–आराधना र दान गरी पुण्य प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ।
धार्मिक मान्यताअनुसार आजको दिन गङ्गा तथा अन्य पवित्र नदी, तलाउ वा जलाशयमा स्नान गरी भगवान् नारायणको पूजा गरिन्छ। निर्जला एकादशीको मुख्य विशेषता जलसमेत त्याग गरेर व्रत बस्ने परम्परा हो। व्रत गर्न नसक्नेहरूका लागि पनि श्रद्धापूर्वक पूजा, दान र संयम पालन गर्नु शुभ मानिन्छ।
शास्त्रीय मान्यताअनुसार यस दिन जल वा सर्बतले भरिएको घडा, अन्न, वस्त्र, शय्या, आसन, कमण्डलु, छाता तथा आवश्यक सामग्री दान गर्दा पुण्य प्राप्त हुने विश्वास छ।
निर्जला एकादशीसँग तुलसी पूजनको पनि विशेष सम्बन्ध रहेको छ। आजको दिन तुलसीको दल श्रद्धापूर्वक सङ्कलन गरी भगवान् विष्णुलाई अर्पण गर्ने चलन छ। यही तुलसी हरिशयनी एकादशीका दिन रोप्ने र हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग तुलसी विवाह गर्ने परम्परा रहिआएको छ।
धार्मिक ग्रन्थमा वर्णन भएअनुसार निर्जला एकादशीमा श्रद्धापूर्वक व्रत, दान र जागरण गर्नाले आध्यात्मिक शुद्धि, संयम र भगवान्प्रति भक्ति बढ्ने विश्वास गरिन्छ।







