चेक गणतन्त्रमाथि मेक्सिकोको सहज जित, शतप्रतिशत नतिजासहित नकआउट चरणमा प्रवेश

User Image Prime TV News ३ हप्ता अगाडि
Image of चेक गणतन्त्रमाथि मेक्सिकोको सहज जित, शतप्रतिशत नतिजासहित नकआउट चरणमा प्रवेश

काठमाडौ । घरेलु टोली मेक्सिकोले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ मा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै शतप्रतिशत जितसहित नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

मेक्सिको सिटी स्टेडियममा सम्पन्न समूह चरणको अन्तिम खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३–० गोल अन्तरले पराजित गरेको हो। यो जितसँगै मेक्सिकोले विश्वकप इतिहासमै पहिलो पटक समूह चरणका तीनवटै खेल जित्दै ९ अंक जोड्ने उपलब्धि हासिल गरेको छ।

साथै समूह चरणभर कुनै गोल नखाई अर्को चरणमा पुग्ने मेक्सिकोको यो दोस्रो अवसर बनेको छ। यसअघि सन् १९७० मा आयोजकका रूपमा खेल्दा पनि टोलीले समूह चरणमा गोल खाएको थिएन।

खेलमा मेक्सिको सुरुदेखि नै लयमा देखिएको थियो। टोलीका लागि अल्भारो फिडाल्गोले १८ यार्ड बाहिरबाट गरेको आकर्षक प्रहार गोलमा परिणत भएपछि रंगशालामा उपस्थित समर्थक उत्साहमा डुबेका थिए। त्यसपछि पनि मेक्सिकोले खेलमा नियन्त्रण कायम राख्दै स्पष्ट जित सुनिश्चित गर्‍यो।

उता चेक गणतन्त्रका लागि हारसँगै अर्को ठूलो झट्का कप्तान टोमास सुचेकको चोट बन्यो। मेक्सिकन आक्रमण रोक्ने प्रयासका क्रममा घाइते भएका उनी मैदानबाट स्ट्रेचरमार्फत बाहिरिएका थिए। प्रारम्भिक जानकारीअनुसार उनी बाँकी प्रतियोगिताबाट बाहिरिएका छन्।

समूह ‘ए’ को अन्तिम अवस्थाअनुसार मेक्सिको समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको छ भने दक्षिण अफ्रिकाले उपविजेताका रूपमा अर्को चरणमा स्थान बनाएको छ। चेक गणतन्त्र र दक्षिण कोरियाको यात्रा भने अन्य समूहको नतिजामा निर्भर बनेको छ। दक्षिण कोरियाले उत्कृष्ट तेस्रो टोलीका रूपमा अघि बढ्ने सम्भावना भने कायम राखेको छ।