इन्धनको मूल्य नघटाएको भन्दै सरकारमाथि प्रदीप पौडेलको प्रश्न

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इन्धनको मूल्य नघटाएको भन्दै सरकारमाथि प्रदीप पौडेलको प्रश्न

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य नघटाइएको भन्दै सरकार र सम्बन्धित निकायको आलोचना गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ११७.६३ अमेरिकी डलरबाट घटेर ६९.२१ डलरमा पुगेको उल्लेख गरेका छन्। उनका अनुसार करिब ३० प्रतिशतभन्दा बढी मूल्य घटिसक्दा पनि नेपाली उपभोक्ताले पुरानै महँगो दरमा इन्धन खरिद गर्नुपर्ने अवस्था रहनु दुःखद हो।

उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आम नागरिकसम्म पुग्नुपर्ने भन्दै प्रश्न उठाएका छन्। मूल्य किन नघटाइएको भन्ने जनगुनासोमा नेपाल आयल निगमले प्रशोधित तेल खरिद गर्ने भएकाले मूल्य तत्काल समायोजन नहुने तर्क दिँदै आएको उल्लेख गर्दै उनले त्यसलाई पर्याप्त आधार मान्न नसकिने बताएका छन्।

पौडेलले कच्चा र प्रशोधित तेलको मूल्यबीच केही समय अन्तर र प्रशोधन लागतको प्रभाव रहने भए पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले प्रशोधित तेलको लागतमा समेत प्रभाव पार्ने तर्क गरेका छन्। यति लामो समय बितिसक्दा पनि मूल्य घटाउनेबारे स्पष्ट जानकारी नदिई पुरानै प्राविधिक कारण देखाइनु उपभोक्ताप्रति अन्याय भएको उनको भनाइ छ।

उनले सरकार र निगमभित्र सुशासन, पारदर्शिता तथा प्रभावकारी व्यवस्थापनको अभाव रहेको आरोप लगाउँदै स्वचालित मूल्य प्रणालीलाई निष्पक्ष रूपमा लागू गर्नुपर्नेमा जोड दिएका छन्। मूल्य बढ्दा तत्काल समायोजन हुने तर घट्ने बेला ढिलाइ गरिने प्रवृत्तिले उपभोक्तामाथि थप भार परेको उनको टिप्पणी छ।

पौडेलले घाटाको समयमा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिएको स्मरण गराउँदै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको राहत पनि नागरिकले पाउनुपर्ने बताएका छन्।