प्रदेशसभा खारेजको निर्णय भए रास्वपाले ठूलो भूल गर्नेछ : बाबुराम भट्टराई

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रदेशसभा खारेजको निर्णय भए रास्वपाले ठूलो भूल गर्नेछ : बाबुराम भट्टराई

काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो महाधिवेशनमार्फत प्रदेशसभा खारेज गर्ने तथा सङ्घीय व्यवस्थालाई कमजोर बनाउने खालको निर्णय गरेको भए त्यसलाई गम्भीर भूलका रूपमा लिनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले संविधान संशोधनजस्तो संवेदनशील विषयमा व्यापक राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। उनले एकातिर सरकारको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहस र अध्ययनका लागि कार्यदल गठन गर्ने तथा अर्कोतिर कुनै एक दलले आफ्नो धारणा अरूमाथि थोपर्ने प्रयास गरे त्यसले राजनीतिक दल, विभिन्न समुदाय र आम नागरिकबीच विश्वासको संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

भट्टराईले नेपालको सामाजिक, जातीय र क्षेत्रीय विविधतालाई ध्यानमा राख्दै लामो राजनीतिक संघर्ष र सहमतिपछि स्थापित भएको सङ्घीय संरचनालाई कमजोर बनाउने वा भत्काउने प्रयासले गम्भीर परिणाम ल्याउन सक्ने उल्लेख गरेका छन्। उनका अनुसार पुरानो एकात्मक राज्य प्रणालीको स्थानमा आएको सङ्घीय पुनर्संरचनालाई जानेर वा नजानेर कमजोर पारिएमा जातीय तथा क्षेत्रीय तनाव बढ्न सक्ने जोखिम रहन्छ।

उनले संविधान संशोधनका विषयमा पर्याप्त राष्ट्रिय सहमति नबन्दासम्म विवादास्पद बहसभन्दा सुशासन, सेवा प्रवाह र विकासमा केन्द्रित हुन राजनीतिक दलहरूलाई सुझाव दिएका छन्। “संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल सुशासन र विकासतर्फ केन्द्रित हुनु बुद्धिमानी हुनेछ,” भट्टराईको भनाइ छ।

रास्वपाको महाधिवेशनमा प्रदेशसभा संरचनाबारे भएको बहस र त्यसप्रति आएका राजनीतिक प्रतिक्रियाबीच भट्टराईको टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।