रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यको मतदान सकियो, दोस्रो चरणमा पदाधिकारी चयन हुँदै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यको मतदान सकियो, दोस्रो चरणमा पदाधिकारी चयन हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत पहिलो चरणको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सकिएसँगै पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचनको तयारी अघि बढाइएको छ।

रास्वपाका नेता मनिष झा का अनुसार केन्द्रीय सदस्यका लागि भएको मतदान केहीबेरअघि सकिएको हो। निर्वाचन आयोगबाट प्राप्त जानकारीअनुसार करिब ८० वटा बुथबाट लगभग ३ हजार १०० मत खसेको छ। झा का अनुसार एउटा स्टेशनअन्तर्गत आठ वटा सबस्टेशन बनाएर ८० वटा बुथ सञ्चालन गरिएको थियो। प्रत्येक स्टेशनबाट औसतमा करिब ३१० मत खसेको जानकारी आएको उनले बताए।

उनले महाधिवेशनमा देखिएको प्रतिनिधिहरूको सहभागिता र उत्साहलाई पार्टीले सकारात्मक रूपमा लिएको बताए। यसैबीच, सभापति रवि लामिछाने ले पदाधिकारी निर्वाचनका लागि दोस्रो चरणको प्रक्रिया अघि बढाउन निर्देशन दिएको झाको भनाइ छ। दोस्रो चरणको निर्वाचन प्रक्रिया दिउँसो ४ बजेदेखि सुरु गर्ने तयारी गरिएको छ।

दोस्रो चरणमा खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्री पदका लागि मतदान हुने जनाइएको छ। निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया सहज रूपमा सञ्चालन भए एक मतदाताले करिब ४ देखि ५ मिनेटभित्र मतदान सम्पन्न गर्न सक्ने अनुमान गरिएको छ। पदाधिकारी चयनका लागि आवश्यक तयारी अघि बढाइएको निर्वाचन पक्षले जनाएको छ।