डिजिटल मतदानमा ढिलाइ हुँदा रास्वपा महाधिवेशनको नेतृत्व चयन प्रक्रिया प्रभावित

User Image Prime TV News ३ हप्ता अगाडि
Image of डिजिटल मतदानमा ढिलाइ हुँदा रास्वपा महाधिवेशनको नेतृत्व चयन प्रक्रिया प्रभावित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत नेतृत्व चयन प्रक्रिया अझै टुंगोमा पुगेको छैन। पहिलो चरणको मतदान सम्पन्न भएको जानकारी दिइए पनि विदेशस्थित प्रतिनिधिहरूको मतदान बाँकी रहेकाले निर्वाचन प्रक्रिया लम्बिएको हो।

पार्टीका प्रचार विभाग सचिव पदमराज पन्थीका अनुसार महाधिवेशनमा ३५ देशबाट सहभागी भएका १७० जना प्रतिनिधिले डिजिटल माध्यमबाट मतदान गर्दै छन्। उनीहरूलाई आफू रहेको देशबाटै पार्टीको एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ।

महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधि तथा उम्मेदवारहरूले दिउँसो १२:१५ बजेसम्म इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गरिसकेका छन्। त्यसपछि विदेशस्थित प्रतिनिधिहरूका लागि मतदान खुला गर्न उम्मेदवारहरूको विवरण एपमा प्रविष्ट गर्ने काम सुरु गरिएको थियो।

पन्थीका अनुसार यसअघि पनि पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट गर्दा यस्तै प्रकारको डिजिटल मतदान प्रणाली प्रयोग गरेको थियो। तर यसपटक उम्मेदवारहरूको नाम एपमा अद्यावधिक गर्न अपेक्षाभन्दा बढी समय लागेकाले विदेशबाट मतदान सुरु हुन ढिलाइ भएको छ।

उम्मेदवारहरूको विवरण प्रविष्ट गर्न करिब दुई घण्टा लाग्ने अनुमान गरिएको भए पनि चार घण्टाभन्दा बढी समय बित्दासमेत प्रक्रिया पूरा हुन नसकेको जनाइएको छ। यसले दोस्रो चरणको निर्वाचन कार्यक्रमसमेत प्रभावित बनेको छ।

विदेशस्थित प्रतिनिधिहरूको मतदान सम्पन्न भएपछि मात्र नेतृत्व चयनको बाँकी प्रक्रिया अघि बढ्ने र अन्तिम नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।