रास्वपामा पदाधिकारी चयन पेचिलो, सहमति कि चुनाव भन्नेमा विवाद
Prime TV News ३ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य निर्वाचन सम्पन्न भएसँगै अब पदाधिकारी चयन प्रक्रियातर्फ चासो केन्द्रित भएको छ। केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत पदमा चयन प्रक्रिया अघि बढ्नेछ।
पार्टीभित्र पदाधिकारी चयन सहमतिबाट गर्ने वा निर्वाचनमार्फत टुंग्याउने भन्ने विषयमा मतभेद देखिएको छ। पदका आकांक्षीहरूको संख्या धेरै भएकाले सहमति जुटाउन नेतृत्वलाई चुनौती थपिएको छ।
खुला कोटातर्फको उपसभापतिमा स्वर्णिम वाग्ले एक्लो दाबेदारका रूपमा देखिएका छन्। उनलाई चुनौती दिने अर्को बलियो उम्मेदवार नदेखिएकाले उनको नाममा सहमति बन्न सक्ने आकलन गरिएको छ।
महिला उपसभापतिको प्रतिस्पर्धा भने रोचक बन्ने संकेत देखिएको छ। पार्टी विधानअनुसार एक महिला उपसभापति रहने व्यवस्था छ। पूर्व पदाधिकारी लिमा अधिकारीको दाबेदारी बलियो मानिएको छ। यद्यपि प्रतिभा रावल र सोविता गौतमले पनि उक्त पदमा रुचि देखाएका छन्। रावल र गौतम हाल मन्त्री रहेकाले अधिकारीलाई प्राथमिकता दिनुपर्ने धारणा पार्टीभित्र सुनिन थालेको छ।
मनोनीत कोटाबाट चयन हुने उपसभापतिमा भने चर्चा कम छ। पार्टीभित्रको चर्चाअनुसार सुनिल लम्साल वा सुधन गुरुङ मध्ये एक जनाले अवसर पाउन सक्ने अनुमान गरिएको छ। महामन्त्री पदमा भने सबैभन्दा कडा प्रतिस्पर्धा देखिएको छ। वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई चुनौती दिन मनिष झा, शिशिर खनाल, गणेश पराजुली तथा विपिन आचार्य लगायतले दाबेदारी प्रस्तुत गरेका छन्। यी आकांक्षीबीच सहमति जुटाउन सभापति रवि लामिछानेलाई कठिन हुने देखिएको छ।
सहमहामन्त्री पदमा पनि आकांक्षीहरूको संख्या उल्लेख्य छ। रमेश प्रसाईं, पुकार बम र यज्ञमणि न्यौपाने सहित दर्जनभन्दा बढी नेताले दाबी गरिरहेका छन्। माथिल्ला पदमा सहमति नजुटेका नेताहरूलाई सहमहामन्त्रीमा व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने विश्लेषण गरिएको छ।
पार्टीभित्र सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी रहेको बताइए पनि आकांक्षीहरूको संख्या र विभिन्न समूहबीचको शक्ति सन्तुलनका कारण प्रक्रिया सहज नहुने देखिएको छ। प्रतिनिधिहरू महाधिवेशनस्थलबाट फर्किन थालेकाले नेतृत्वले सकेसम्म सहमतिमार्फत पदाधिकारी टुंग्याउने प्रयास गरिरहेको स्रोतहरूको भनाइ छ।
सहमति असफल भए पदाधिकारी चयनका लागि निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना हुन सक्नेछ। यद्यपि नेतृत्वले पार्टीभित्रको एकता कायम राख्दै साझा टोली निर्माण गर्ने रणनीतिमा जोड दिएको बताइएको छ।







