स्थायी व्यवस्थापन नगरे पुरानै ठाउँमा फर्केर छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of स्थायी व्यवस्थापन नगरे पुरानै ठाउँमा फर्केर छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

काठमाडौ । सरकारले विस्थापित गरी होल्डिङ सेन्टरमा राखेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी बसोबासको व्यवस्था तत्काल नगरे आफूहरू पहिले बस्दै आएको स्थानमै फर्किन बाध्य हुने चेतावनी दिएका छन्।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका पीडितहरूले सरकारलाई सरोकार पत्र बुझाउँदै विस्थापन भएको दुई महिना बितिसक्दा पनि स्थायी व्यवस्थापनबारे कुनै ठोस जानकारी नपाएको गुनासो गरेका हुन्।

पीडितहरूका अनुसार उनीहरूलाई सुरुमा १५ दिनका लागि अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो। साथै, ६० दिनभित्र स्थायी समाधान गरिने आश्वासन दिइएको भए पनि हालसम्म कहाँ, कहिले र कसरी व्यवस्थापन गरिने भन्नेबारे कुनै स्पष्टता नआएको उनीहरूको भनाइ छ।

गत असार ९ गते सरकारी निकायका प्रतिनिधिहरू होल्डिङ सेन्टरमा पुगेर प्रतिपरिवार २५ हजार रुपैयाँ राहत लिएर असार १२ भित्र सेन्टर खाली गर्न आग्रह गरेको पीडितहरूले बताएका छन्। तर, उक्त प्रस्तावले दीर्घकालीन समाधान नदिने भन्दै उनीहरूले अस्वीकार गरेका छन्।

सरोकार पत्रमार्फत पीडितहरूले पाँचबुँदे माग अघि सार्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत संकलन र प्रमाणीकरण गरी वास्तविक पीडितको पहिचान गर्न माग गरेका छन्। जबर्जस्ती उठिबास गराइएका परिवारलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्नुपर्ने उनीहरूको जोड छ।

उनीहरूले स्थायी व्यवस्थापन नहुँदासम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा–सुविधा उपलब्ध गराउन वा वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको स्थायी व्यवस्थापन सुनिश्चित गर्नुपर्ने माग पनि गरेका छन्।

पीडितहरूले स्थायी विकल्प नदिई होल्डिङ सेन्टरबाट बाहिर निकाल्ने प्रयास भए आफूहरूसँग अन्यत्र जाने ठाउँ नभएकाले डोजर लगाएर हटाइएको पुरानै स्थानमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्।