रास्वपाको नवनिर्वाचित केन्द्रीय सदस्यको नतिजा सार्वजनिक
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचित केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक गरेको छ। बिहीबार सम्पन्न मतदानको अन्तिम परिणाम निर्वाचन समितिले शुक्रबार बिहान सार्वजनिक गरेको हो।
रास्वपाको ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि बुधबार रातिदेखि बिहीबार मध्याह्नसम्म निर्वाचन प्रक्रिया सञ्चालन गरिएको थियो। निर्वाचन विद्युतीय प्रणालीमार्फत सम्पन्न भएको थियो।
निर्वाचनमा देशभरबाट सहभागी प्रतिनिधिहरूले नयाँ नेतृत्व चयनका लागि मतदान गरेका थिए। महाधिवेशनबाट केन्द्रीय समिति गठनसँगै पार्टीको आगामी संगठनात्मक संरचना र राजनीतिक दिशा तय गर्ने जिम्मेवारी नयाँ नेतृत्वमा पुगेको छ।
निर्वाचन समितिका अनुसार मतगणना र प्राविधिक परीक्षण पूरा भएपछि अन्तिम परिणाम सार्वजनिक गरिएको हो। यसअघि केही पदमा सहमतिमार्फत नेतृत्व चयन गरिएको थियो भने बाँकी पद तथा सदस्यहरू निर्वाचन प्रक्रियाबाट चयन भएका हुन्।
महाधिवेशनपछि रास्वपाले नयाँ केन्द्रीय समितिमार्फत संगठन विस्तार, नीति निर्माण र आगामी राजनीतिक रणनीतिलाई अघि बढाउने अपेक्षा गरिएको छ।








