रास्वपामा आज पदाधिकारी निर्वाचन, महिला उपसभापतिमा सोविता र तोसिमाबीच प्रतिस्पर्धा
Prime TV News ३ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत आज पदाधिकारी चयनका लागि निर्वाचन हुँदैछ। सभापति र एक उपसभापति पद सर्वसम्मत भएपछि बाँकी पाँच पदका लागि मतदान हुन लागेको हो।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्की बीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। महामन्त्री पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य चुनावी मैदानमा छन्।
यसअघि उम्मेदवारी दर्ता गराएका जगदीश खरेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। सहमहामन्त्री पदमा रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्रीबीच प्रतिस्पर्धा हुनेछ। महिला सहमहामन्त्री पदमा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।
यसअघि पुरुष खुलातर्फ उपसभापतिमा स्वर्णीम वाग्ले सर्वसम्मत निर्वाचित भएका छन् भने पार्टी सभापतिमा रवि लामिछाने पनि निर्विरोध चयन भएका छन्। छ दिनदेखि जारी महाधिवेशनका क्रममा अधिकांश प्रतिनिधि घर फर्किइसकेको अवस्थामा आजको मतदानबाट बाँकी पदाधिकारीको टुंगो लाग्ने अपेक्षा गरिएको छ।







