प्रचण्डको घोषणा: एमालेसँग तत्काल सहकार्य, एकता भने अहिले होइन
Prime TV News ३ हप्ता अगाडि 
विराटनगर । नेकपाका संयोजक पुष्पकमल दाहालले नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग तत्काल पार्टी एकता नभए पनि संसद्, सडक र निर्वाचनमा कार्यगत सहकार्य गरेर अघि बढ्ने बताएका छन्।
विराटनगरमा आयोजित पार्टीको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छिट्टै एकता हुने र एमालेसँग विभिन्न राजनीतिक मुद्दामा सहकार्यको सहमति बन्न लागेको जानकारी दिए।
उनले संसद्भित्र, सडक आन्दोलन र आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनमा सहकार्यको तयारी भइरहेको उल्लेख गर्दै वाम शक्तिहरूबीचको सहकार्यले नयाँ राजनीतिक सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरे।
प्रचण्डले तत्काल एमालेसँग पार्टी एकीकरणको विषयमा छलफल नभएको स्पष्ट पार्दै अहिलेको प्राथमिकता कार्यगत एकता रहेको बताए। उनका अनुसार संसदीय संघर्ष, सडक आन्दोलन र निर्वाचनमा सहकार्यले वामपन्थी शक्तिलाई थप बलियो बनाउन सहयोग पुग्नेछ।
सम्बोधनका क्रममा उनले आफूमाथि हुने आलोचना र सामाजिक सञ्जालमा आउने टिप्पणीलाई सामान्य रूपमा लिने गरेको उल्लेख गर्दै कार्यकर्तालाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे। आफूहरू परिस्थितिअनुसार नयाँ र साहसिक राजनीतिक निर्णय लिन तयार रहेको भन्दै उनले आगामी महाधिवेशनमा पनि नयाँ राजनीतिक सन्देश दिने संकेत गरे।







