रास्वपाको पदाधिकारी निर्वाचन परिणाम सार्वजनिक, विपिन आचार्य महामन्त्रीमा निर्वाचित
Prime TV News ३ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पाँच पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ।
सार्वजनिक परिणामअनुसार महिला उपसभापति पदमा सोबिता गौतम निर्वाचित भएकी छन्। उनले ७८९ मत प्राप्त गर्दै प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई पराजित गरिन्। कार्कीले ५७२ मत प्राप्त गरेकी छन्।
महामन्त्री पदमा विपिन कुमार आचार्य विजयी भएका छन्। उनले ६७३ मत प्राप्त गर्दै पार्टीको प्रमुख संगठनात्मक जिम्मेवारीमध्ये एक पदमा स्थान सुरक्षित गरेका हुन्।
त्यस्तै, खुला सहमहामन्त्रीतर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन्। शाहले ४७१ मत प्राप्त गर्दा ढकालले ४१० मत प्राप्त गरेका छन्।
महिला सहमहामन्त्री पदमा निशा डाँगी निर्वाचित भएकी छन्। उनले ७३७ मत प्राप्त गर्दै उक्त पदमा विजयी भएकी हुन्। यसअघि पार्टी सभापतिमा रवि लामिछाने तथा खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका थिए।
पदाधिकारी चयन प्रक्रिया टुंगिएसँगै रास्वपाले आफ्नो नयाँ नेतृत्व संरचना लगभग पूर्ण गरेको छ।
महाधिवेशनपछि नवनिर्वाचित नेतृत्वले पार्टी संगठन विस्तार, नीति निर्माण र आगामी राजनीतिक रणनीति तय गर्ने जिम्मेवारी सम्हाल्नेछ।







