डेम्बेलेको ह्याट्रिकमा नर्वेमाथि फ्रान्सको शानदार जित, समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सले नर्वेमाथि ४–१ को प्रभावशाली जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
शनिबार बिहान सम्पन्न खेलमा फ्रान्सका ओस्मान डेम्बेले नायक बने। उनले ह्याट्रिक गर्दै टोलीलाई सहज जित दिलाए। फ्रान्सले खेलको सुरुवातदेखि नै दबाब बनाएको थियो।
खेलको सातौँ मिनेटमा डेम्बेलेले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि २०औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। लगत्तै २१औँ मिनेटमा नर्वेका थेलो आसगार्डले गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा ल्याएपछि खेल केही प्रतिस्पर्धात्मक बनेको थियो।
तर फ्रान्सले फेरि नियन्त्रण कायम गर्यो। ३२औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। दोस्रो हाफको इन्जुरी समयमा डेसिरे डुएले अर्को गोल थपेपछि फ्रान्सले ४–१ को सानदार जित दर्ता गर्यो।
यो जितसँगै फ्रान्सले समूह चरणका तीनवटै खेल जित्दै शतप्रतिशत नतिजासहित ९ अंक जोडेर शीर्ष स्थान सुरक्षित गरेको छ। पराजित नर्वे भने ६ अंकसहित उपविजेताका रूपमा अर्को चरणमा पुगेको छ।
समूह चरणको अन्तिम खेलअघि नै दुवै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका थिए। यद्यपि अन्तिम खेलले समूह विजेता र उपविजेताको टुंगो लगाएको हो।







