नेपालले साउदीसँग नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न आग्रह

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेपालले साउदीसँग नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न आग्रह

काठमाडौ । नेपाल सरकारले साउदी अरबले लागू गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेको छ।

नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र वैदेशिक रोजगारीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले नेपालले यस्तो आग्रह गरेको हो। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. म्निखरसँग भएको शिष्टाचार भेटमा उक्त विषय उठाएका हुन्।

भेटका क्रममा मन्त्री यादवले हाल साउदी जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सीप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको उल्लेख गर्दै उनीहरूको रोजगारी र भिसा प्रक्रियामा कुनै अवरोध आउन नदिन विशेष पहल गर्न आग्रह गरेका थिए।

उनले सीप प्रमाणीकरणजस्तो संवेदनशील विषय द्विपक्षीय सहमति, परामर्श र स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिएका छन्। नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हित, सहजता र रोजगारीको निरन्तरतालाई प्राथमिकतामा राखेर यो विषय उठाएको जनाएको छ।

जवाफमा साउदी राजदूत म्निखरले विषयलाई आफ्नो सरकारसमक्ष पुर्‍याएर आवश्यक परामर्शपछि थप जानकारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको श्रम मन्त्रालयले जनाएको छ। सरकारले साउदीसँगको श्रम सहकार्यलाई थप व्यवस्थित र श्रमिकमैत्री बनाउन निरन्तर संवाद जारी राख्ने संकेत दिएको छ।