अमेरिकी आक्रमणपछि इरानको प्रतिक्रिया, अमेरिकी सैन्य स्थानलाई निशाना बनाएको दाबी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले इरानी तटीय क्षेत्रमा भएको भनिएको अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप अमेरिकी सैन्य स्थानहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। इरानी समाचार एजेन्सीहरूले उक्त जानकारी सार्वजनिक गरेका छन्।
यस घटनाक्रमबीच इरानको इस्लामिक परामर्शदात्री सभाका सदस्य इब्राहिम अजिजीले अमेरिका युद्धविरामप्रति प्रतिबद्ध नभएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले वार्ताको प्रक्रिया चलिरहेका बेला इरानमाथि पुनः आक्रमण भएको दाबी गर्दै दोषारोपणको राजनीति अब स्वीकार्य नहुने बताएका छन्।
अजिजीले अमेरिकी नेतृत्वले वार्ता र युद्धविरामको सिद्धान्तलाई व्यवहारमा उतार्न नसकेको टिप्पणी गरेका छन्। यता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यदि इरानसँग समझदारीका विषयमा मतभेद रहेको भए संवादमार्फत समाधान खोज्न सकिने बताएका छन्। उनले युद्धविराम सम्झौताप्रति सम्मान व्यक्त गर्दै कार्यान्वयनसम्बन्धी असहमति हिंसाको सट्टा प्रत्यक्ष संवादबाट समाधान हुनुपर्ने धारणा राखेका छन्।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल र लेबनानबीच भएको त्रिपक्षीय फ्रेमवर्क सम्झौतालाई क्षेत्रीय स्थायित्वतर्फको महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्। उनले शान्ति, समृद्धि र सहअस्तित्वका लागि अझै थप प्रयास आवश्यक रहेको बताएका छन्।
इरानी सैन्य संयन्त्र खातम अल–अन्बिया सेन्ट्रल हेडक्वार्टरका आधिकारिक प्रवक्ता इब्राहिम अल–फिकारले पनि अमेरिकी कदमप्रति इरानले कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्।
यद्यपि दुवै पक्षका दाबीबारे स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।







