प्रतिनिधिसभा बैठक आज, आर्थिक विधेयकदेखि सार्वजनिक खरिद संशोधनसम्मका विषयमा छलफल हुने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रतिनिधिसभा बैठक आज, आर्थिक विधेयकदेखि सार्वजनिक खरिद संशोधनसम्मका विषयमा छलफल हुने

काठमाडौ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक, प्रतिवेदन तथा आर्थिक विषयमा छलफल र निर्णय गर्ने कार्यसूची तय गरिएको छ।

बैठकको सुरुवातमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनमा जानकारी गराउने सम्भावित कार्यक्रम रहेको छ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ प्रस्तुत गर्नेछन्।

त्यसपछि मन्त्री पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने तथा विधेयक सदनमा पेश गर्ने कार्यसूची रहेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक पेश गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्ने तयारी छ।

आजको बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूमाथि छलफल गरी निर्णयार्थ पेश गरिनेछ। साथै अर्थमन्त्री वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यक्रम छ।

यससँगै राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरेर पारित गर्ने प्रक्रिया पनि अघि बढाइनेछ। बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलको शोक प्रस्ताव पनि प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।