रास्वपाले बालबालिकालाई सदस्यता दिएको भन्दै कांग्रेसको संसदमा आपत्ति
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभामा आपत्ति जनाएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका तर्फबाट बोल्दै सांसद रेनुका काउचाले रास्वपाको पहिलो महाधिवेशनमा सार्वजनिक गरिएको तथ्यांकप्रति प्रश्न उठाउँदै सत्तारुढ दल संविधान र कानुनभन्दा माथि हुन नसक्ने बताइन्।
रास्वपाको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनअनुसार पार्टीमा १८ वर्षमुनिका ३५ हजार २ सय ५७ जना सदस्य रहेको उल्लेख गरिएको छ। यही तथ्यांकलाई आधार बनाउँदै कांग्रेसले कानुनी प्रश्न उठाएको हो। सांसद काउचाले नेपालको संविधान तथा प्रचलित कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य बनाउन नपाइने व्यवस्था रहेको उल्लेख गर्दै त्यसको उल्लंघन भएको भए कानुनअनुसार कारबाही हुनुपर्ने धारणा राखिन्।
उनले भनिन्, “रास्वपाको पहिलो महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारीलाई बधाई दिन्छु। तर, महाधिवेशनमै सार्वजनिक गरिएको तथ्यांकले गम्भीर प्रश्न उठाएको छ। १८ वर्षमुनिका ३५ हजार २ सय ५७ जनालाई सदस्यता दिएको भनिएको छ। नेपालको कानुनअनुसार बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन। यदि त्यसो गरिएको हो भने कानुनले जरिवाना र कैद सजायको व्यवस्था गरेको छ। के सत्तारुढ दल रास्वपालाई संविधान र कानुनले छुँदैन? रास्वपा संविधानभन्दा माथि हो? बालबालिकाको मतबाट निर्वाचित पदाधिकारीको वैधानिकता के हुन्छ?”
यस विषयमा रास्वपाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।







