रास्वपाको महाधिवेशनबाट पारित दस्ताबेजप्रति नेकपाको आपत्ति, लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाएको आरोप
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको हालै सम्पन्न पहिलो महाधिवेशनबाट पारित दस्ताबेजहरूले लोकतन्त्र र गणतन्त्रको आधारभूत संरचनालाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले लोकप्रियताको आवरणमा आएका केही राजनीतिक विचारले मुलुकलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिए।
चितवनको सौराहामा पहिलो महाधिवेशन सम्पन्न गरेकोमा रास्वपा तथा पार्टी सभापति रवि लामिछानेलाई बधाई दिँदै उनले महाधिवेशनबाट पारित नीति र दस्ताबेजप्रति भने गम्भीर असहमति जनाए। “लोकप्रियताको घुम्टोले छोपिएर आएको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई कमजोर पार्ने प्रयास गरिरहेको छ। यसप्रति सबै सचेत हुन आवश्यक छ,” दुलालले संसदमा भने।
उनले निर्वाचनका बेला प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने प्रतिबद्धता जनाएर मत माग्ने, तर पछि तिनै संरचना खारेज गर्ने नीति लिनु जनताप्रतिको बेइमानी भएको टिप्पणी गरे। “प्रदेशको अस्तित्वबिना सङ्घीयता रहन सक्दैन भन्ने सामान्य राजनीतिक बुझाइसमेत नहुनेहरूले पहिले राजनीति बुझेर मात्रै राजनीति गर्न आउनुपर्छ,” उनले भने।
दुलालले सरकारले प्रशासनिक खर्च कटौती र राज्य संरचना सानो बनाउने प्रतिबद्धता जनाए पनि व्यवहारमा मन्त्रालयहरूमा सचिवस्तरका सल्लाहकार नियुक्त गरेर सरकारी खर्च बढाएको आरोप लगाए। “एकातिर मितव्ययिताको मीठो भाषण गर्ने, अर्कोतिर इतिहासमै नभएको रूपमा सल्लाहकार नियुक्त गरेर राज्यकोषमाथि भार थप्ने काम भइरहेको छ,” उनले सरकारको आलोचना गरे।
यस विषयमा रास्वपाले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।







