एन्फा निलम्बन फुकुवाका लागि तत्काल पहल गर्न सरकारसँग माग
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि विश्व फुटबल महासंघ (फिफा)ले गरेको निलम्बन फुकुवाका लागि सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय फुटबल टोली तथा क्लबस्तरका खेलाडीहरूको भविष्य सुरक्षित गर्न सरकारले फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फाको निलम्बन हटाउन सक्रिय भूमिका खेल्नुपर्ने बताए।
राईले खेलकुद क्षेत्रमा राजनीतिक वा अन्य प्रकारको हस्तक्षेप नहुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए। उनले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
उनले फिफाको निलम्बन यथाशीघ्र फुकुवा गर्न नसकिए नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागिता र खेलाडीहरूको करियरमा गम्भीर असर पर्न सक्ने उल्लेख गरे ।







