अख्तियार प्रमुख राईलाइ राजीनामा दिन जेनजी मुभमेन्ट अलायन्सको दबाब


काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तलाई तत्काल पदबाट हट्नुपर्ने माग गर्दै ‘जेनजी मुभमेन्ट अलायन्स’ले दबाब दिएको छ ३९ जिल्ला आवद्ध १२ वटा जेनजी समूहको समावेश रहेको अलायन्सले सोमबार जारी विज्ञप्तिमा आयोगको नेतृत्व नै निष्पक्ष प्रक्रियाविना नियुक्त भएकाले यसको विश्वसनीयता गुमाएको दाबी गरेको हो।
‘२०८२ भदौ २३ गतेदेखि सुरु भएको हाम्रो आन्दोलन भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्ने हो। तर, अख्तियारकै नेतृत्व विवादित रहेकाले यो संस्थाले आफ्नो नैतिक आधार गुमाएको छ,’ विज्ञप्तिमा भनिएको छ।
विशेष अदालतको हालसालैको निर्णयमा प्रमुख आयुक्त राईको ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ सम्बन्धी टिप्पणी गरिएको उल्लेख गर्दै अलायन्सले राजीनामाको मागलाई थप औचित्यपूर्ण ठहर गरेको छ।
अलायन्सले राईको नाम ठूला विवादित मुद्दामा समेत जोडिँदै आएको दाबी गरेको छ। नेपाल आयल निगमको जग्गा खरिद, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद जस्ता विषयमा उनको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता देखिएको भन्दै नैतिक जिम्मेवारी स्वरूप तत्काल राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ।
हाल संघीय संसद् नहुँदा महाअभियोगमार्फत पदमुक्त गर्ने सम्भावना नभएकाले राजीनामा नै अख्तियारको गरिमा जोगाउने उपाय भएको अलायन्सको भनाइ छ। यससँगै अन्तरिम सरकारले खुला आवेदन प्रक्रियाबाट निष्पक्ष नियुक्ति समिति गठन गरी नयाँ आयुक्त नियुक्त गर्नुपर्ने माग पनि गरिएको छ।
समूहले माग पूरा नभए असोज २१ गते बिहान १० बजे अख्तियारमा औपचारिक निवेदन दर्ता गर्ने र त्यसपछि चरणबद्ध कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ।