वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाउन खनालको आह्वान
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाउन आह्वान गरेका छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित “नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी” विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
खनालले मदन भण्डारी र जीवराज आश्रितको हत्या षड्यन्त्रपूर्ण र कायरतापूर्वक गरिएको भन्दै त्यसको वास्तविक दोषी पत्ता लगाउन नसक्नु आफूहरूकै कमजोरी भएको स्वीकार गरे। “मदन भण्डारी र जीवराज आश्रितको हत्या षड्यन्त्रपूर्ण र कायरतापूर्वक गरिएको हो,” उनले भने, “ती हत्यारा को हुन्, कसले गरेको थियो भन्ने पत्ता लगाउन नसक्नु हाम्रो आफ्नै कमजोरी हो।”
उनले उक्त हत्या नेपाली कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने गम्भीर षड्यन्त्र भएको दाबी गर्दै यस्ता चुनौतीहरू अझै जारी रहेको भन्दै सचेत रहनुपर्नेमा जोड दिए। खनालले मदन भण्डारीले अघि सारेको राजनीतिक कार्यदिशालाई स्मरण गर्दै वर्तमान अवस्थामा समाजवादी क्रान्तिका लागि वामपन्थी शक्तिहरूले नयाँ नीति र दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता रहेको बताए।
उनले वामपन्थी एकता कुनै नयाँ आवश्यकता नभएको भन्दै इतिहासभर यसको आवश्यकता रहेको उल्लेख गरे। “वामपन्थी एकता आज मात्र होइन, अनेक कालखण्डदेखि आवश्यक थियो,” उनले भने, “तर बीचमा हाम्रो कहिले सिङ पलायो, कहिले जुरो पलायो। अहिले बाध्यात्मक परिस्थितिमा पुगेका छौँ। अब यही दिनदेखि वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ।”
उनले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी एकता नै मुख्य आवश्यकता भएको पनि स्पष्ट पारे।







