‘क्रमभंग’ परिवर्तनको नियम हो, उत्पात होइन : प्रचण्ड

User Image Prime TV News ३ हप्ता अगाडि
Image of ‘क्रमभंग’ परिवर्तनको नियम हो, उत्पात होइन : प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बेला–बेला उठाउने ‘क्रमभंग’को अवधारणालाई गलत रूपमा व्याख्या गर्ने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबार आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले आफूलाई विभिन्न कोणबाट विश्लेषण गरेर फरक–फरक चित्र बनाउने गरिएको टिप्पणी गरे।

“म विल्कुल हतारिएको छैन। मलाई मानिसहरूले विभिन्न कोणबाट हेर्दै विभिन्न चित्र बनाउने गरेका छन्। मैले ‘क्रमभंग’ भन्यो भने के उत्पात गर्न थाल्यो भन्छन्,” उनले भने, “यो त प्रकृति, समाज र मानव समाजको नियम हो-निरन्तरतामा क्रमभंग। मैले त्यही भन्ने गर्छु।”

प्रचण्डले एउटै सोच र कार्यशैलीमा अडिग रहँदा राजनीतिक रूपमा अगाडि बढ्न नसकिने जिकिर गरे। उनका अनुसार बदलिँदो परिस्थिति अनुसार विचार र कार्यदिशामा परिवर्तन ल्याउने क्षमता कम्युनिस्ट आन्दोलनका लागि आवश्यक छ।

उनले केही नेताहरू पुरानै राजनीतिक धारणा दोहोर्‍याएर बसिरहेको टिप्पणी गर्दै समयअनुसार विचार परिवर्तन गर्नुपर्ने बताए। “क्रममै बस्नुभयो भने अघि बढ्न सकिँदैन। अहिले पनि नयाँ जनवादकै कुरा दोहोर्‍याएर बस्ने प्रवृत्तिले कहीं पुर्‍याउँदैन,” उनले भने, “परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ।”

प्रचण्डले आफूलाई परिवर्तनको पक्षधर वा अन्य कुनै दृष्टिकोणबाट मूल्याङ्कन गरिए पनि त्यसलाई स्वाभाविक रूपमा लिने उल्लेख गर्दै परिस्थितिअनुसार विचार विकास गर्ने क्षमता नै कम्युनिस्ट नेतृत्वको विशेषता हुनुपर्ने धारणा व्यक्त गरे।