मनसुन थप सक्रिय बन्दै : केही क्षेत्रमा भारी वर्षा र हुरीको सम्भावना

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मनसुन थप सक्रिय बन्दै : केही क्षेत्रमा भारी वर्षा र हुरीको सम्भावना

काठमाडौ । देशका विभिन्न भागमा मनसुनी वायुको प्रभाव क्रमशः बलियो बन्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको छ।

महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी दुईदेखि तीन दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको जनाएको छ।

हाल देशका पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि बाक्लो बादल लागेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

तराईका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ। विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको जोखिम देखिएको छ। साथै कोशीको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।